परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन् ।
आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्क प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरे ।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग आज दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने छ । राणा भदौ ६ मा स्वदेश फर्कनेछिन् ।
