sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका प्रमुख सात समाचार : बेचन झालाई थुनामा पठाउने आदेशदेखि नेपालको विजयी सुरुवात

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । 

थुनामा पठाउने आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । आइतबार जाहेरवालातर्फको बहस सकिएलगत्तै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।

अब उनी माथिल्लो अदालतमा पुनरावेदनका लागि जान पाउने छन् । माथिल्लो अदालतबाट अन्य आदेश नभएमा मुद्दाको फैसलासम्म उनी थुनामै रहने छन् । फैसला धेरै ढिला भएर अभियोगमा दाबी गरिएको सजाय भन्दा बढी समय थुनामा बसेपछि मात्र उनले सर्वोच्चमा थुनामुक्त हुन रिट निवेदन लैजान पाउने छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा झालाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा प्रतिवादी बनाइएको छ ।।

प्रधानमन्त्रीको आशंका
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताएका छन् । 

पार्टी निकट खेलकुद महासंघको केन्द्रिय कमिटिको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरुले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास गरिरहेको बताए । 

उनले समाजलाई अनुशासित र गतिशील बनाउन खेलकुद महासंघले यस प्रकारका गतिविधिलाई चनाखो भएर हेर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको बताउदैँ भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी नगर्ने जिकिर गरे । 

विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए । उनले सरकारको प्राथमिकता  भ्रष्टाचार नियन्त्रण गर्न खोजबिन गर्ने र कारबाही गर्ने रहेको धारणा राखे । 

विधेयक स्वीकृत
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रश्तावलाई सर्वसम्मत स्वीकृत गरेको हो । 

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रश्तुत गरेको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरुले छलफल गरेका थिए । छलफलसँगै कानूनमन्त्री चौरसियाले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए । लगत्तै सभामा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ ६ गते बिहीवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

नयाँ दिल्लीमा परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । 

भारतीय समकक्षीको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा पाँच दिने भारत भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् । 

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।।

भौतिकमन्त्री दाहालको पत्रकार सम्मेलन  
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशका कुनैपनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने बताएका छन् । 

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले देशभरका जुनसुकै सडक खण्ड पहिरोका कारण दुई घण्टा भन्दा बढी अवरुद्ध नहुने बताए । उनले सडक अवरुद्ध भएको अवस्थामा सडक खुलाउन आवश्यक उपकरणहरु तयारी अवस्थामा रहेको भन्दै जहाँ पहिरो गएपनि तत्कालै सुचारु हुने व्यवस्था मिलाइएको बताए । 

उनले नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोका कारण समस्या आइरहने भएकाले सो सडक खण्डलाई पहिलो प्राथमिकतामा राखिएको बताए । 

उनले सो सडक खण्डमा आइपर्ने समस्या समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको जिकिर गरे । नागढुंगा–मुग्लिङ सडक खण्ड एक घण्टा भन्दा बढी समय अवरुद्ध हुन नदिइएको उनको भनाइ छ । 

मुख्य न्यायाधिवक्तामा काफ्ले 
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा दोलखाका शुकदेव काफ्ले नियुक्त भएका छन् । 

आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दोलखाको तामाकोशी गाउँपालिका–३ निवासी काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 

नेपालको विजयी सुरुवात  
साफ यू–२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । 

आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका निराजन धामीले २४औ मिनेटमा गोल नै निर्णायक बनेको हो । 

नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्