महिनामा दुईपटक मन्त्रीसँग छलफल गर्ने कांग्रेसको तयारी
काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक छलफल गर्ने भएको छ ।
दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री रहेका छन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल भएको हो ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार साँझ छलफल भएको थियो । बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा पनि पार्टीबाट सहभागी थिए । देउवा निवासमा कांग्रेसबाट मन्त्री र राज्यमन्त्री सबै पुगेका थिए ।
पार्टी र मन्त्रीहरुको समन्वय बढाउनका लागि छलफल भएको बताइएको छ । हरेक १५ दिनमा एकपटक पार्टी र मन्त्रीको छलफल गर्ने निर्णय भएको छ ।
कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।
दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् ।
