उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा जुटेको छ । मंसिरको तेस्रो साता उपनिर्वाचन गर्ने गरी आयोग तयारीमा जुटेको हो ।
आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचनको मितिबारे सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसमक्ष बजेट सुनिश्चितताको प्रयास गर्नेजस्ता तयारीका काम गरिरहेको बताइएको छ ।
आयोगले रिक्त रहेका स्थानीय तहलाई लक्ष्य गरी मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि नै आह्वान गरिसकेको छ । उपनिर्वाचनको मिति घोषणा भएपछि निर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता स्वतः बन्द हुने कानुनी व्यवस्था छ । स्थानीय तहका ३५ पदाधिकारी रिक्त छन् । आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष दुई जना तथा प्रमुख र उपप्रमुख एक९एक जना र २९ वडाध्यक्ष पद रिक्त छन् ।
बागमती प्रदेशको कीर्तिपुर नगरपालिकाका प्रमुख र कर्णालीको नलगाड नगरपालिकाका उपप्रमुख पद रिक्त छ । कोशी प्रदेश अन्तर्गतको ग्रामथान गाउँपालिकाका अध्यक्ष र कर्णालीको महाबु गाउँपालिकाका अध्यक्षको पद रिक्त छ । बागमतीको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष र सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पद पनि रिक्त छ ।
