एसएमएस आएपछि मात्र लाइसेन्स बुझ्न कार्यालय आउन यातायात व्यवस्था विभागको अनुरोध
हरेक उपभोक्ताको मोबाइलमा लाइसेन्सको विवरण पठाउने भनाई
काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स छापिएको सूचना एसएमएसबाट प्राप्त भएपछि मात्र कार्यालयमा लिन आउन अनुरोध गरेको छ ।
कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै लाइसेन्स छापिएपछि विभागको वेबसाइट, हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने गरेको उल्लेख गरेको छ । यी माध्यमबाट सूचना तथा जानकारी लिएरमात्र सम्बन्धित यातायात कार्यालय पुग्न विभागले सूचित गरेको छ ।
अहिले लाइसेन्स अनुमतिपत्र जारी गर्ने, नवीकरण तथा रद्द गर्ने अधिकार प्रदेश कार्यालयसँग छ । तर, लाइसेन्स छपाइको काम भने अहिले पनि यातायात व्यवस्था विभागले नै गर्दै आएको छ ।
लाइसेन्स छपाइको सूची लामो भएको र समयमै छाप्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । छपाइको काम छिटो सम्पन्न गर्न विभाग सचेत र गम्भीर रहेको समेत उल्लेख गरेको छ । विभागका अनुसार प्रदेश सरकार मातहत कार्यालयबाट लाइसेन्सको परीक्षा सञ्चालन भएपछि सम्बन्धित परीक्षार्थीले परीक्षा उत्तीर्ण गरेपछि त्यसको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा देखिने गरी प्रणालीमा आबद्धता समेत हुने गरेको छ ।
