संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन् ।
नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधिसभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो । विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजेसम्मका लागि स्थगित भएको हो ।
कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने माओवादीको अडान छ । युवा संघ नेपालले काठमाडौंमा गरेको भेलामा प्रधानमन्त्री ओलीले घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनाप्रति कटाक्ष गर्दै संसदमा जवाफ दिन आवश्यक नरहेको बताए । एउटा हटाएर अर्को नियुक्ति गर्नु नै जवाफ भएको उनको भनाइ छ ।
प्रधानमन्त्रीले ओलीले विपक्षीलाई सस्तो, हल्का र उत्ताउलो नहुन तथा प्रधानमन्त्रीका विषयमा जथाभावी नबोल्न चेतावनी दिए । चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थालाई रोक्न विपक्षीले सदन अवरोध गरेको प्रधानमन्त्री ओलीको आरोप छ ।
