दोहोरो सुविधा लिएको भन्दै सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुविरुद्ध सर्वोच्चमा रिट
राज्यकोषमा भार थपिएकाले सुविधा खारेज गर्न माग
काठमाडौं । दोहोरो सुविधा लिएको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट निवेदन दर्ता गराएका हुन् ।
उनले ललितपुर भैसेपाटीमा रहेको आवास र अरु सुविधाबाट उनीहरुलाई बञ्चित गर्नुपर्ने माग गरेका छन् । ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आना क्षेत्रफलमा आवास निर्माण भएको छ । उक्त आवासमा ७ वटा भवनमा १४ वटा ब्लक छन् । आवासक्षेत्र निर्माण गर्न ८५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ ।
आवासमा प्रदेश प्रमुखको निवास र मुख्यमन्त्रीका निवास छन् । उनीहरु काठमाडौं आउँदा त्यही निवासको प्रयोग गर्छन् । प्रदेश प्रमुखको लागि आवासबाहेकका सुविधा खर्च प्रति महिना करिब २/३ लाखसम्म हुनसक्ने र मुख्यमन्त्रीका लागि आवास बाहेकका सुविधा खर्च प्रतिमहिना करिब ३/४ लाख सम्म हुनसक्ने भन्दै रिट निवेदनमा अधिवक्ता भुषालले राज्यकोषमा भार पारेकाले उक्त सुविधा खारेज गर्न माग गरेका छन् ।
