sevenstartv.com २० वैशाख २०८३, आइतवार

भूमि अध्यादेश अगाडि नबढाउने सत्ता गठबन्धनको निर्णय

विधेयकमार्फत् भूमिसम्बन्धी कानुन बनाउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सत्तारुढ दलहरुको बैठकले भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले विवादमा रहेको भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको हो । 

सत्तारुढ जसपा नेपालले उक्त अध्यादेश अगाडि बढाए सरकारलाई समर्थन नदिने अडान लिएको थियो, जसका कारण राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको थियो । राष्ट्रिय सभामा अन्य पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयकहरु पारित गर्ने प्रक्रियामा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अध्यादेश अगाडि नबढाउने स्पष्ट पारेका हुन् । 

बैठकमा सहभागी जसपा नेपालका प्रथम उपाध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अध्यादेश फिर्ता लिएर विधेयकमार्फत् भूमिसम्बन्धी कानुन बनाउने प्रतिवद्धता जनाएको बताए । पार्टीका तर्फबाट भूमिसम्बन्धी अध्यादेशमा पुरानो अडान दोहोर्याइएकाे उनले जानकारी दिए ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाका अध्यक्ष अशोक राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता थियो ।

सरकारले संसद्को चालु अधिवेधन सुरु हुनु केही दिनअघि मात्र ६ वटा अध्यादेश ल्याएको थियो जसको सत्ता र प्रतिपक्षका दलले विरोध गरेका थिए । भूमि अध्यादेशको भने सत्तारुढ जसपा नेपालले कुनै पनि हालतमा पारित नगर्ने अडानमा थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्