वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगिएको, समस्या परेको र दूतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको भन्दै यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनले मेनपावर कम्पनीहरूले श्रमिकहरूलाई भनेअनुसारको सेवा सुविधा नदिने र गुनासो गर्दा धम्क्याउने गरेको बताए । उनले मुलुक रेमिट्यान्सले चलिरहेको अवस्थामा श्रमिकहरूलाई सम्झौताअनुसारको सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेनपावर कम्पनीहरूलाई कानूनी दायरामा ल्याउन समेत माग गरेका छन् ।
