अहिलेसम्म चर्चामा रहेका भ्रष्टाचार नेताका सम्पत्ति छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनु पर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म चर्चामा रहेका भ्रष्टाचार नेताका सम्पत्ति छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ‘क’ को क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अख्तियार र सरकारले गरेका अनुसन्धानमा चित्त नबुझेको भए संसद्बाट उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सकिने बताएका हुन् ।
उनले एकले अर्कालाई आरोपप्रत्यारोप गर्नुभन्दा अवकाश प्राप्त कुनै प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु उपयुक्त हुने तर्क गरे । समितिले दोषी देखाएका सबैलाई कारबाही गर्न सबै प्रतिवद्ध हुनुपर्नेमा उनले जोड दिए ।
पछिल्लो समयमा नागरिकहरूमा असन्तुष्टि बढेकाले यसलाई सरकार र नेताले गम्भीर भएर सोच्नुपर्ने बताए । राजावादीप्रति लक्षित गर्दै महामन्त्री थापाले जनताको आक्रोशलाई एकथरी मानिसले घ्यू थप्ने प्रयास गरेकाले सरकार र दलका नेताहरूले जनभावना बुझेर अगाडि बढ्नुपर्ने तर्क गरेका छन् ।
