sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रधानमन्त्री ओली महाेत्तरी जाँदै

२२ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार महोत्तरी जाँदैछन् । 

महोत्तरीको गौशाला-१ इँटाटारमा देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटनका लागि प्रधानमन्त्री ओली महोत्तरी जान लागेका हुन् । उनी आज बिहान साढे ११ बजे त्यहाँ पुग्ने जनाइएको छ ।  

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले झन्डै दुई अर्ब रुपैयाँको लगानीमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि‘ नामक उद्योग स्थापना गरेका हुन् । बैंकिङ, पर्यटन, अटोमोबाइल र सूचना प्रविधि क्षेत्रमा संलग्न ढकालले स्वदेशमै कागज उत्पादन गरी आयातमा निर्भरता घटाउने उद्देश्यले उद्योग खोलेको बताएका छन् ।

२०७८ मा शिलान्यास भएको उद्योगले केही समयअघि उत्पादन सुरु गरिसकेको छ।  उद्योगले ५०० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ। नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिक टन कागज खपत हुने भए पनि हालसम्म सम्पूर्ण कागज आयात गर्नुपर्ने बाध्यता रहेको छ । विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर र टिस्यु पेपरलगायत सामग्री उत्पादन गर्दै उद्योगले कुल मागको ३० प्रतिशतभन्दा बढी कागज स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको छ ।

भन्सार विभागका अनुसार नेपालले गत आर्थिक वर्षमा ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कागज आयात गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कागज भित्र्याएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्