परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरुको उद्धार ९रेस्क्यु० गर्ने जस्तो मात्र भएको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा पर्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा उनले भनीन् 'अहिले विदेशमा नेपालीहरु यतिधेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरुको उद्धार गर्नेजस्तो मात्र भएको छ ।'
मन्त्री डा. राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम निकै कठिन भएको जानकारी दिएकी छन् । अहिले संसारका ४० देशमा मात्र नेपाली राजदूताबास रहेका तर नेपालीहरु भने एक सयभन्दा बढी देशमा पुगेका बताउँदै मन्त्री डा देउवाले नेपालीहरु कहाँ र कसरी पुगेका छन् भन्ने बारेको सूचना मन्त्रालयलाई थाहा नहुने र कसैलाई समस्या परेर उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको बताइन् ।
बंगलादेशको उदाहरण दिँदै उनले भनीन् 'जस्तो कि बंगलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो । तर मिडियामा भने उनीहरुलाई एक दुई दिनमै नेपाल ल्याइहाल्नुपर्यो भन्नेजस्तो गरेर समाचार आउँछ । त्यसबेला पनि ढाकाको दूताबासमा रहेको सीमित जनशक्तिले समन्वय गर्यो । यस्तै अवस्था अन्यत्र पनि छन्, तर हामी जसोतसो काम गरिरहेकै छौँ ।'
उनले मध्यपूर्वी देशहरुमा घरेलु कामदारका रुपमा जान महिलालाई नेपालले प्रतिबन्ध लगाएको भए पनि अवैधानिक बाटोबाटै हजारौँ महिला ती देशमा पुगिरहेका जानकारी गराउँदै पछि यदि उनीहरु समस्यामा परे भने उद्धारका लागि निकै अप्ठेरो पर्न सक्ने पनि बताएकी छन् ।
