डीएलएले गर्याे नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
काठमाडौं । नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रिय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ ।
उच्च अदालत बार एशोसिएशनले काठमाडौं अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको हो । निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक भएको थियो ।
उक्त नामवलीमा सोमबारसम्म दाबी-विरोधको समय तोकिएको थियो । उच्चले काठमाडौँ जिल्ला बारले बार काउन्सिलको नविकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौंले पनि नीतिगत रुपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो ।
डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) का अध्यक्ष सुशीलराज पौडेलले बार काउन्सिल अद्यावधिक गरे-नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रुपमा काठमाडौं बारको मात्रै छानबिन गर्न लागेकोले विरोधमा उत्रिएको बताए ।
