पर्सामा रवि लामिछानेको बयान सुरु
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ ।
सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो । त्यतिबेला उनको प्रेसर सामान्य बढी रहेको बताइएको छ । आज मंगलबार बिहानबाट भने लामिछानेको बयान सुरु गरिएको हो । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा बयान भइसकेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो ।
