रवि लामिछानेको मानवअधिकार हनन् भएको भन्दै रास्वपाले दियो उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
२ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ ।
२० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको रास्वपाले जनाएको छ। राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको रास्वपाले उजुरीमा उल्लेख गरेको छ ।



