sevenstartv.com २० वैशाख २०८३, आइतवार

रवि लामिछानेलाई आज छैटौं पटक अदालतमा पेस गरिँदै

२३ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिँदै छ ।

लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो। अदालतले दिएको समय शुक्रबार राति सकिए पनि हिजो शनिबार परेकाले लामिछानेलाई आज अदालतमा पेश गर्न लागिएको हो । प्रहरीले आज अदालत खुल्नासाथ छैटौं पटक म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरेको छ ।

 

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान बाँकी रहेकाले सरकारी वकील कार्यालयले थप समय माग्ने तयारी गरेको छ । अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।

रविसँगै पूर्व प्रहरी डीआईजी छविलाल जोशी, रकम अपचलनमा सहयोग गरेको आरोपमा पक्राउ परेकी लीला पछाई, नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेलाई बुटवल, चितवन, काठमाडौंमा बयान गराई पोखरा लगिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्