नेपाल र चीन प्राचीन ज्ञानको भूमि : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका छन् ।
चीनको चार दिने भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री ओलीले बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भने, नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका हुन् । उनले महान् दार्शनिक र ऋषिहरूको शिक्षाले पुस्तालाई प्रेरित गरेको उल्लेख गर्दै त्यसले संसारभरका धेरै जीवनहरूलाई प्रभाव पारेको बताए ।
ओलीले संसारको यस क्षेत्रमा धेरै महान सभ्यताहरू हुर्केको उल्लेख गरे । ‘ती सभ्यताहरूको महानता हाम्रो समाजको कहिल्यै नटुट्ने जग हो । र, ती सभ्यताहरू अझै पनि आधुनिकतातर्फको हाम्रो यात्रामा प्रतिध्वनित छन्,’ ओलीले सम्बोधनको क्रममा भने, ‘हाम्रो क्षेत्रमा समर्पण र लगनशीलताको धनी छ ।
हाम्रा पुर्खाहरूले ती विशेषताहरूमा निर्माण गर्न सक्षम थिए। र, प्रगति हासिल गरे । जबकि बाँकी संसार अझै आध्यारो छाया र गहिरो निद्रामै थियो।’उनले हाम्रा पुर्खाहरु विचारकहरू मात्र नभएर आविष्कारक र दूरदर्शी रहेको पनि उल्लेख गरे । उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे।
