'ऐन कार्यान्वयन गर्न नसक्दा सहकारी समस्याग्रस्त'
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित ‘सहकारीको समसामयिक अड्चन र निकास’ विषयक प्रदेशस्तरीय गोष्ठीमा मन्त्री अधिकारीले सहकारी क्षेत्रमा काम गर्ने क्रममा सरोकारवाला निकायहरु ऐन कार्यान्वयन गरेर अगाडि नबढेकै कारण सहकारी क्षेत्रमा समस्या देखापरेको बताएका हुन् ।
उनले सहकारी क्षेत्रमा कसरी जाने र ऐनको कार्यान्वयनको गरेर अगाडि बढ्ने कुरामा को कति प्रतिबद्ध छौं ? भनेर प्रश्न गरे । उनले विगतमा भएका र देखिएका कमी,कमजोरी अब दोहोरिन नदिन ऐन र काम गर्ने विधिहरू समयानुकूल बनाउनुपर्ने कुरामा जोड दिए ।
मन्त्री अधिकारीले भने, ‘सहकारी ऐन, २०७४ मा आयो । हामीले त्यो ऐनमा उल्लिखित विषय सँगै लिएर काम गरेको भए अहिले सहकारीमा यस्ता समस्या आउँदैनथे ।’
