'उचित कदम चाले बौद्धिक पलायन रोक्न सकिन्छ'
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बौद्धिक पलायन रोक्न विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन प्याब्सनद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै उनले युवा जनशक्तिमा स्वाभिमानी, सिर्जनशील र आत्मनिर्भर सोचको विकास गराउन सक्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, 'संविधानले परिकल्पना गरेको समाजवादोन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति माया गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक छ।' नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको उनको भनाइ थियो ।
निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताए । शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उनले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताएका छन् ।
