sevenstartv.com २१ वैशाख २०८३, सोमवार

निर्वाचनको सुरक्षार्थ निर्वाचन प्रहरीको छनोट सोमबारबाट सुरु

५ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनको सुरक्षार्थ निर्वाचन प्रहरीको छनोट सोमबारबाट भएको छ । बुधबारसम्म छनोट सकेर मापदण्ड पुगेकालाई तालिममा पठाउने तयारी छ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत मुलुकभर एक लाख ४९ हजार ९० निर्वाचन प्रहरीको माग भएपनि आवेदन भर्नेको संख्या एक लाख ९६ हजार ४७० पुगेको छ । जसमध्ये नेपाल प्रहरीमा मात्रै एक लाख ८१ हजार १७४ र सशस्त्रमा १५ हजार २९६ को आवेदन परेको छ ।

यद्यपि, ३२ जिल्लामा मागेभन्दा कम आवेदन परेका छन् । नेपाल प्रहरीका अनुसार आवेदन कम पर्ने जिल्ला कोशी प्रदेशमा आठ, बागमतीमा छ, गण्डकीमा १०, लुम्बिनीमा चार, मधेशमा चार र सुदूरपश्चिम जिल्लामा चार रहेका छन् । आवेदन कम परेको जिल्लामा धेरै आवेदन परेको छिमेकी जिल्लाबाट निर्वाचन प्रहरीका लागि युवा लैजाने प्रहरीको तयारी छ । निर्वाचन प्रहरीले न्यूनतम ५४ हजारदेखि अधिकतम ८३ हजारसम्मको खर्च सिलिङभित्र ४० दिनको तलबसहित पोसाक, खाद्यान्न र भ्रमण भत्ताबापतको रकम प्राप्त गर्नेछन् । 

निर्वाचन प्रहरीको दर्जा जवानसरहको हुन्छ । निर्वाचन प्रयोजनार्थ उनीहरू ४० दिन फिल्डमा खटिनेछन् र त्यसै अवधिको तलब–सुविधा प्राप्त गर्नेछन् । काठमाडौं उपत्यकाभित्र खटिने निर्वाचन प्रहरीले सबैभन्दा कम र जुम्लामा खटिने निर्वाचन प्रहरीले सबैभन्दा धेरै सुविधा प्राप्त गर्नेछन् । काठमाडौं उपत्यकाभित्र खटिनेले तलब र अन्य सुविधासहित ५४ हजार ३६८ रुपैयाँ मात्रै प्राप्त गर्नेछन् । जुम्लामा खटिनेले भने ८३ हजार २४१ रुपैयाँ पाउनेछन् ।  त्यस्तै, तराईका जिल्लामा खटिनेका लागि तलब–सुविधासहित ५५ हजार ६६६ खर्च हुनेछ ।  तराईको झापामा खटिनेले भने काठमाडौं सरह ५४ हजार ३६८ मात्रै पाउँछन् । पहाडी क्षेत्रका जिल्लामा खटिनेहरूका लागि तलब र अन्य सुविधासहित ५८ हजार ७८५ रुपैयाँ खर्च गर्ने प्रहरीको भनाई छ । 

पहाडी जिल्लाका सहरी क्षेत्रमा खटिनेहरूले ५६ हजार ९७१ रुपैयाँ बराबरको मात्रै तलब–सुविधा प्राप्त गर्नेछन् ।  हिमाली क्षेत्रका जिल्लामा खटिने निर्वाचन प्रहरीका लागि भने तलब र अन्य सुविधासहित ६४ हजार ६०८ रुपैयाँ खर्च गरिनेछ । तर, उक्त क्षेत्रको पनि विकट क्षेत्रमा खटिनेहरूलाई तलब र अन्य सुविधासहित ८३ हजार २४१ रुपैयाँ खर्च गरिने प्रहरीले जनाएको छ । नेपाल प्रहरीतर्फ एक लाख ३३ हजार ९९० र सशस्त्रतर्फ १५ हजार ११० निर्वाचन प्रहरी माग गरिएको थियो । नेपाल प्रहरीमा मात्रै एक लाख ८१ हजार १७४ र सशस्त्रमा १५ हजार २९६ को आवेदन परेको छ । 

बुधबारसम्म छनोट सकिएपछि दुवै प्रहरीले ११ माघदेखि तालिम सुरु गर्ने तयारी गरेका छन् । निर्वाचनका लागि हालसम्म मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण भएका छन् । जसमा निर्वाचन केन्द्र २३ हजार ११२ निर्धारण भएका छन् । निर्वाचन प्रहरी भर्ना मापदण्डअनुसार आवेदक १८ वर्ष पुरा भएको र  ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्