राप्रपाले अघि सार्यो महाधिवेशनको कार्यतालिका
मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ । शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।
बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले पार्टीलाई अब परम्परागत शैलीबाट मुक्त गरी नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले अहिले जुन अवस्थामा पार्टी चलेको त्यस्को खाका नै परिवर्तन गरि अघि बढ्नु पर्ने अवस्था आएको औल्याएका छन् ।
उनले भने, हामीले जुन ढंगले अहिलेसम्म सोच्यौँ, जुन ढंगले चल्यौँ, त्यसमा परिवर्तन नगरी अब हुँदैन,’त्यसैले अब हामीले नयाँ ढंगले पार्टीलाई लैजानुपर्छ र आगामी महाधिवेशनले देशलाई एउटा नयाँ सन्देश दिनुपर्छ।’ अध्यक्ष लिङ्देनले महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अब कुनै पनि ढिलासुस्ती र अन्योल सह्य नहुनेमा सबैलाई बिस्वस्त हुन आग्रह गरेका छन् ।
निर्वाचन समितिलाई पूर्ण विश्वासमा लिएर काम गर्न निर्देशन दिँदै देशभरका कार्यकर्तालाई महाधिवेशनको वातावरण निर्माणका लागि एक ठिक्का भएर अघि बढ्न आग्रह गरेका छन् । पार्टीभित्र देखिएका असन्तुष्टि र पार्टी छोडेर जानेहरूप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले भने, उनीहरूले नै राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बनेको जनमत र वातावरणलाई बिगार्ने काम गरे । म माथि विभिन्न लाल्छना लगाउनु भन्दा आफुले पार्टीको हितमा के कति काम गरे आफैले महशुस गर्नु पर्ने हुन्छ ।
अरुलाई दोश दिएर आफु उम्कनु नहुने भन्दै अध्यक्ष लिङ्देनले एक पटक सबैले देश र जनताका अघि गरेका वाचा भुल्न नहुने बताएका छन् ।
