'जैमिनि धाट मान्दिरलाई जैमिनी ऋषिको तपोभुमि किन भने गरिन्छ'
काठमाडौं । जैमिनिघाट बागलुङ सदरमुकामदेखि करिब बीस किलोमिटर दक्षिण पवित्र कालीगण्डकीको पश्चिम किनार काली र ठेउलेखोलाको दोभानमा पर्दछ । केही वर्ष पहिले जैमिनिघाट अमलाचौर गाविसमा पर्दथ्यो । पञ्चायती शासकहरूले आफ्नो राजनीतिक स्वार्थका कारण त्यसलाई कुश्मी गाविसमा पारे ।
जैमिनिऋषिले तपस्या गरेको घाटलाई जैमिनिघाट भनियो । तर आजभोलि त्यस भेकका जनताले ज्यामिरघाट पनि भन्छन् । जैमिनिघाटको अपभ्रंश ज्यामिरघाट हो भन्ने पौराणिक र ऐतिहासिक प्रमाण प्रशस्तै छन् । जैमिनि ऋषिले कठोर तपस्या र ज्ञान साधन गरेको ठाउं ऐतिहासिक बिरासदको रुपमा आजसम्म छ । आजभोलि पनि कसैले जैमिनिघाट कसैले ज्यामिरघाट र कतिपय जैमिनि मुनिले तपस्या गरेकाले जैमुनिघाट पनि भन्छन् । जे भने पनि यो ठाउं जैमिनि ऋषिको नामले एक्काइससय वर्षदेखि प्रसिद्ध छ ।
कालीगण्डकी र ठेउलेखोलाको संगमदेखि करिब सयमिटर उत्तर कालीगण्डकीको किनारमा दुईवटा शिला छन् । एउटा शंखाकारको विशाल शिला छ । त्यसमा शंखको जस्तै प्वाल पनि छ । त्यसलाई स्थानीयबासिन्दा शंखे ढुंगा भन्छन् । शंख फुक्न सीपालु मानिसहरूले प्वालमा मुख राखेर फुक्ने र सजिलै शंखध्वनीले पहाडै थर्काइदिन्छन् । शंखेढुंगाको करिब ५, ७ मिटर पश्चिममा अर्को मजवुद पहरो छ ।
पहराको अलि दक्षिण तल देवशिला (स्थानीय जनजिब्रोमा देवढुंगा) छ । तीनै दुई ढुंगाका बीच मिमांसाका प्रवर्तक जैमिनि ऋषिले तपस्या गरेका थिए भन्ने मजवुद प्रमाणहरू छन् । अलि उत्तरतिर पहरा खोलेर बनाइएको कुटि छ । त्यो कुटीलाई जैमिनि कुटी भनिन्छ । कुटिभित्र एउटा कुनामा पूजा गर्ने मण्डप छ । युगौंदेखि कालीगण्डकीको किनारामा पाइने पवित्र शालिग्रामको परम्परागत पूजा हुंदै आएको थियो भनिन्छ । तर अहिले नियमित पूजा हुन छोडेको छ ।
मैले निकै वर्ष पहिले त्यसक्षेत्रका संस्कृत व्याकरण र साहित्यका विद्वान छविलाल पाध्यालाई जैमिनिघाटको पौराणिक र ऐतिहासिक पृष्ठभूमिबारे जिज्ञासा राखेको थिए । उनले त्यो स्थल जैमिनि ऋषिको योग र ज्ञान साधन गर्ने पवित्र ऐतिहासिक स्थल हो भनेर थुपै्र प्रमाण जम्मा गरेका थिए । पाण्डुलिपिको रुपमा सबै प्रमाण मेरा घरमा सुरक्षित थियो । २०५९ साल असार महिनामा सेनाले मेरो घरभित्र भएका सबै पुस्तक पाण्डुलिपी सामान आंगनमा निकालेर आगो लगायो । त्यसैसंगै त्यो संग्रह पनि नस्ट भयो ।
