आयात बढ्दा सस्तियो चामल, अन्य खाद्यान्नको मूल्य कति छ ?
काठमाडौं । बजारमा अहिले चामलको मूल्य घटेको छ । अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामलको मूल्य भने घटेको छ । भर्खरै धान पाक्ने सिजन सकिएको र किसानले धान बिक्री गरिरहेका कारण बजारमा नयाँ चामल प्रशस्त आएकाले मूल्य सस्तो भएको छ ।
अहिले स्वदेशी उत्पादन बजारमा आउन थालेको र भारतबाट पनि उल्लेख्य मात्रामा धान तथा चामल आयात भएपछि बजारमा भाउ सस्तो भएको व्यवसायीको भनाइ छ । चामल उद्योगीले गत वर्षदेखि नै भारतबाट धान आयात गरी स्टक राखेकाले पनि पर्याप्त मात्रामा धान–चामल उपलब्ध रहेका कारण पनि मूल्य घटेको हुनसक्ने व्यवसायी बताउँछन् । तर पुरानो चामलको मूल्य भने घटेको छैन ।
नयाँ चामल बोरामा २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म सस्तोमा बिक्री भइरहेको छ । अहिले बजारमा नयाँ जिरा मसिनो चामलको भाउ २५ केजी बोराको १६ सयदेखि १८ सयसम्ममा बिक्री भइरहेको छ । मोटा चामलको भाउ पनि घटेको छ । नयाँ सोना मन्सुली चामल २५ केजीको १५ सय ५० रुपैयाँदेखि १६ सय रुपैयाँ छ । अघिल्लो वर्ष यसै अवधिमा बजार जिरा मसिनो चामलको मूल्य १९ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म रहेको थियो । यस्तै सोना मन्सुली चामलको मूल्य १६ सय रुपैयाँदेखि १९ सय रुपैयाँसम्म रहेको थियो । अहिले बजारमा पुरानो चामल भने अघिल्लो वर्षकै मूल्यअनुसार बिक्री भइरहेको छ ।
यस्तै खुद्रा व्यापार संघले पनि पुरानो चामल पुरानै मूल्यअनुसार बिक्री गरिरहेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १५ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ बराबरको धान–चामल आयात भएको छ । अघिल्लो वर्ष २०८१÷८२ को सोही अवधिमा १२ अर्ब ७९ करोड १० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०÷८१ मा ८ अर्ब २८ करोड ८४ लाख रुपैयाँ बराबरको धान–चामल आयात भएको थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा भारतले धान चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको थियो । नेपाल सरकारले धान चामलको आयातमा २.५ प्रतिशत अग्रिम कर लगाएपछि व्यवसायीहरुले चामल आयात घटाएका थिए । यससँगै बजारमा मूल्य बढेको थियो । उपभोक्ताले जिरा मसिनो चामल प्रतिबोरा २५ सय रुपैयाँदेखि २८ सय रुपैयाँसम्ममा खरिद गर्न बाध्य भएका थिए । पछि भारतले शुल्क हटाएपछि आयात बढेसँगै गत वर्ष २०८१÷८२ केही मूल्य घटेको थियो ।
अघिल्लो वर्षदेखि भारतीय धान चामल आयात बढेको तथ्यांकले देखाएको छ । यसैबीच गत वर्ष प्रतिलिटर ३२५ रुपैयाँ पर्ने काँचो तोरीको तेल अहिले लिटरको ३६० रुपैयाँ पुगेको छ । दाल र गेडागुडीको मुल्य भने गत वर्षको तुलनामा सामान्य बढेको छ । गत वर्ष १५० रुपैयाँ पर्ने चना दाल अहिले १७० पुगेको छ । यस्तै अघिल्लो वर्षको यसै अवधिमा २० प्रतिशतले खाने तेलको मूल्य घटेको थियो । तर अहिले बजारमा खाने तेलको मूल्य लिटरमा २० देखि ३५ रुपैयाँसम्म बढेको देखिन्छ ।
०००
