विकृतिहरु अन्त्यका लागि अध्यादेश जरुरी छ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेशरुको पक्षपोषण गर्दै विकृतिहरु अन्त्यका लागि अध्यादेश जरुरी रहेको जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास भएको र भविष्य बचाउने प्रयासमा अध्यादेश जारी गर्नु पर्ने अवस्था आएको बताएका छन् ।
देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास स्वरुप आफुले यो कदम चालेको भनाई उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास स्वरुप आफुले काम गरेको अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
उनले भनेका छन, धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्, ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो, वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नगरेको तर चाहे आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने समेत दाबी गरेका छन् ।
अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको उनको भनाई छ । शिक्षालयमा दलको झण्डा निषेध गर्नु पर्नेमा जोड गर्दै प्रधानमन्त्री शाहले कर्मचारीतन्त्रमा दलको झोला निषेध गरिनु पर्ने बताउँदै उनले भने यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ ।
अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ ।’ उनले जनताकै चाहनाअनुरुप अध्यादेशमार्फत विकृति हटाएका बताएका छन् । उनले भनेका छन्, ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाईंको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाईंहरुकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएको बताएका छन् ।
आम नेपाली जनताकै हितमा काम गर्न आफ्नो नेतृत्वमा सरकार बनेका भन्दै उनले भनेका छन्, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट भन्ने मान्यता अनुसार, नै कर्मचारीले पनि विधि खोज्नु पर्ने बताएका छन् ।
