sevenstartv.com ८ मंसिर २०८३, मङ्गलवार

हिउँदे बालीमा डीएपी मल अभाव नहुने : कृषि सामग्री कम्पनी लिमिटेड

८ मंसिर २०८३, मङ्गलवार स्टार संवाददाता

पर्सा — हरेक वर्ष डीएपी मलको आपूर्तिमा समस्या हुँदा किसानहरु मारमा पर्ने गरेका छन् । यस बर्षको हिउँदे बालीका लागि आवश्यक डीएपी मलको आपूर्ति सहज बनाउन कृषि सामग्री कम्पनीले एक साताभित्र २० हजार टन डीएपी मल नेपाल भित्र्याउने तयारीलाई तिव्रता दिइएको छ ।

ग्लोबल टेन्डरमार्फत २० हजार टन डीएपी मल आयात गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दिनेश शर्माले जानकारी गराएका छन्। उनका अनुसार आपूर्तिकर्ता सन इन्टरनेसनलले तेस्रो मुलुकबाट ल्याएको मल कोलकाता बन्दरगाह आइपुगेको छ। जहाजबाट अनलोड गरी प्याकिङ गरेर नेपाल ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ ।

सो मल नेपाल भित्रिएपछि हिउँदे बालीका लागि डीएपी मलको माग धान्न सहज हुने कम्पनीले अपेक्षा गरेको छ। युरिया मलको मौज्दात पनि मागअनुसार नै रहेकाले हिउँदे बालीका लागि युरिया र डीएपी दुवै मलको अभाव हुने अवस्था नरहेको शर्माले बताएका छन् । आयात हुने मलमध्ये वीरगन्ज, विराटनगर र भैरहवा प्रादेशिक कार्यालयलाई वितरण गरिने जनाइएको छ। वीरगन्ज प्रादेशिक कार्यालयसँग हाल १८ हजार २ सय ३४ टन युरिया, ६ हजार २ सय ९३ टन डीएपी र २ हजार ८८ टन पोटास मल मौज्दात रहेको छ।

उक्त कार्यालयले मधेश प्रदेशका सबै, बागमती प्रदेशका सबै र गण्डकी प्रदेशका केही गरी डेढ दर्जन जिल्लामा मल परिचालन गर्दै आएको छ। मधेश प्रदेशका जिल्लाका लागि चालु हिउँदे सिजनमा ५ हजार १ सय ७० टन डीएपी मलको कोटा निर्धारण गरिएको छ ।

प्रमुख शर्माले भने, मौज्दातमा रहेको र आयात भएर आउने क्रममा रहेको मलले यस वर्ष हिउँदे बालीको माग धान्न सक्छ । यतिबेला गहुँ, तोरी र उखु खेतीका लागि डीएपी मलको माग बढेको छ । किसानको समस्या अनुसार काम भएकाले यस वर्ष किसान मलका कारण तनावमा बस्नु नपर्ने उनको भनाई छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्