sevenstartv.com ७ मंसिर २०८३, सोमवार

नेपाल-भारत व्यापार मञ्च सम्पन्न

लगानी र आर्थिक सहकार्यमा गर्नुपर्नेमा जोड

७ मंसिर २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यता नेपाल–भारत व्यापार मञ्च सम्पन्न भएको छ ।  नयाँ दिल्लीमा भएको उक्त कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा उच्च अधिकारीहरूले व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारमा जोड दिएका छन् ।

अर्थमन्त्री वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसाद, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग महासंघका उपाध्यक्ष डा. विक्रमजित सिंह सहनी र लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पालगायतको सहभागी रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री वाग्लेले सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रमा लगानीका प्रशस्त अवसर रहेको र भारतको यातायात र सूचना प्रविधि क्षेत्रको सफलताबाट सिकेर सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन् । अर्थमन्त्री वाग्लेले भारतीय लगानीकर्तालाई नेपाली निजी क्षेत्रसँग मिलेर उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने उद्योगमा लगानी विस्तार गर्न समेत आग्रह गरेका छन् ।

भारतीय राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार र लगानीलगायत पारस्परिक लाभका क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सम्बन्ध थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उक्त कार्यक्रममा दुवै देशका व्यवसायीले लगानीका सम्भावनाबारे धारणा राखेका थिए भने विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य र आर्थिक साझेदारी बढाउने उद्देश्यले समझदारीपत्रमा समेत हस्ताक्षर भएको जनाइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्