sevenstartv.com १२ वैशाख २०८३, शनिवार

सरकारविरुद्ध प्रदर्शन उत्रिए सुकुमवासीका स्थानीय

रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

११ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेसँगै पूर्व सुचना दिएको थियो । सोही सुचनाका आधारमा सो स्थानमा बसोवास गर्ने स्थानीय आक्रोसित हुँदै विरोधमा उत्रिएका छन् । सरकारले गरेको निर्णयको विरोध गर्दै थापाथलीमा प्रदर्शन भइरहेको छ ।

सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शनका क्रममा डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक अधिकार सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयले सरकारको आलोचना गरिरहेका छन् ।

उनीहरुले सरकारमा नहुँदा सुनिने रास्वापाको स्वर जनताले दुई तिहाइ पुग्ने मत दिए पछि चित्रदेखि चरित्र समेत वदलिएको आरोप लगाएका छन् । सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएर स्थानीयलाई ढाडस दिएका थिए । तर रास्वपाकै बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरु आक्रोशित छन् ।

प्रधानमन्त्रीको आदेशमा लामिछानेको धारणा मिसिएको भन्दै सत्तामा नजादा उनले दिएको बचन सुकुम्वासी बस्तीमा डोजर चले छाती थाप्न आउछु भन्नु र सत्तामा पुगे पछि मौन दर्शक बन्नु रविको नालाइकिपन भएको भन्दै उनीहरुले लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् । देशभरी करिब १२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी छन् ।सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो ।

आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् । तर केही युवाहरु भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा प्रदर्शन भइरहेको छ। उनीहरुले भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयविरुद्ध थापाथली बस्ती हुँदै माइतीघर मण्डलासम्म र्‍याली आयोजना गरेका हुन् । प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठकमार्फत् सुकुमवासी बस्ती खाली गराउने निर्णय गराएका थिए । उक्त बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागीता रहेको थियो ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरेको थियो । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाको थापाथलीसहित ४ वटा सुकुमवासी बस्तीमा डोजर चलाउने जनाएको छ । सरकारले डोजर चलाउने सूचना पाएपछि कतिपयले आफैं बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन् । कतिपयले भने सरकारको निर्णय अवज्ञा गर्ने योजना अनुसार बस्ती खाली नगर्ने अडान राखेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्