गृहमन्त्रीको स्टन्टले देश चल्दैन, सरकारको धारणा स्पष्ट होस् : राजेन्द्र लिङ्देन
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारी र सुधन गुरुङको साँठगाठ बारे नेपाल सरकारले तत्काल स्पष्ट पार्नु पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री माग गरेका छन् । सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चार माध्याममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष लिङ्देनले भट्ट सम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको काजजात सार्वजनिक भइरहेका बेला सोबारे तत्काल स्पष्ट पार्न सरकार, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वसँग जवाफ माग गरेका हुन् । स्टन्टको भरमा देश चल्ने मुस्किल रहेको उल्लेख गर्दै उनले सरकारको आलोचना समेत गरेका छन् । अध्यक्ष लिङ्देनले सरकारले अनधिकृत रुपमा बनाइएको सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक, अराजकता र लोकतन्त्रको धज्जी उढाएको भन्दै आक्रोश समेत पोखेका छन् ।
सुशासन कायम गर्ने मुल एजेण्डा बोकेका गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आइराखेको छ ती सबै कुराको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्नेमा जोड दिदै अध्यक्ष लिङ्देनले गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्ने स्पष्ट पारेका छन्। पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ उनको भनाई छ। गृहमन्त्री जस्तो जिम्मेवार व्यक्तिले स्टन्ट गरेको भन्दै उनले अब त्यस्तो स्टन्टले देश नचल्ने जनाएका छन् ।
त्यस्तै लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने जनाउँदै पार्टीभित्र रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरूसँग अव कुनै सम्झौता नगर्ने बताएका छन् । उनले आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चुनावमा पार्टीका उम्मेदवारलाई नसघाउने र राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्ने पार्टीभित्रका नेताहरूको कुनै कुरा नसुनिने समेत बताएका छन् । महाधिवेशन सारेर कार्यकाल लम्बाउने पक्षमा आफू नरहेको भन्दै अध्यक्ष लिङ्देनले वैधानिक र व्यवस्थित तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको जानकारी गराएका छन् ।
पार्टीभित्रको अबको समस्याको समाधान महाधिवेशन मात्रै भएको उनको भनाइ छ । अध्यक्ष लिङ्देनले अहिले संसद्मा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको गलत कार्यको सडक र सदनबाट प्रतिवाद गर्ने धारणा राखेका छन्। उनले चुनावमा भोट लिनका लागि गरेको प्रचारजस्तो नभई व्यवहारमा नजिता आउने गरी रास्वपा नेतृत्वको सरकारले काम गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
