अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सार्यो
मध्यपूर्वमा तनाव कायमै
काठमाडौं । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म र्पुयाइएको बताइएको छ, जसले अमेरिका र इरानबीच वार्ता पुनः सुरु गराउन मध्यस्थताको भूमिका खेल्ने संकेत दिएको छ ।
यसैबीच, अमेरिका मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाउने तयारीमा देखिएको छ । करिब ५० हजार सैनिक पहिले नै क्षेत्रमा तैनाथ रहेका बेला थप करिब एक हजार सैनिक पठाउने तयारी गरिएको छ । साथै, समुद्री सैनिकहरूको ठूलो सङ्ख्या पनि परिचालन गरिँदैछ । यसलाई भविष्यमा आवश्यक निर्णय लिन लचिलोपन कायम राख्ने रणनीतिका रूपमा हेरिएको छ ।
यद्यपि कूटनीतिक प्रयास तीव्र बने पनि परिस्थिति जटिल नै रहेको छ । इरानले अमेरिका सङ्ग कुनै औपचारिक वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ । अर्कोतर्फ, अमेरिकाले भने वार्ता भइरहेको संकेत दिएको छ, जसले दुवै पक्षबीच अविश्वास अझै गहिरो रहेको देखाउँछ । मध्यपूर्वको महत्वपूर्ण जलमार्ग हर्मुज जलडमरूमध्य पनि तनावको केन्द्र बनेको छ ।
इरानले यस मार्गमा नियन्त्रण कडा बनाएपछि अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको छ भने इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ । यसले विश्व अर्थतन्त्रमा समेत असर पार्ने चिन्ता बढाएको छ ।
