sevenstartv.com ९ चैत २०८२, सोमवार

सुडानको एक अस्पतालमा भएको आक्रमणमा १३ बालबालिकासहित ६४ जनाको मृत्यु

स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै

९ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सुडानको डार्फर क्षेत्रको एक अस्पतालमा भएको आक्रमणमा १३ बालबालिकासहित कम्तीमा ६४ जनाको ज्यान गएको छ ।

पूर्वी डार्फर राज्यको राजधानी अल–दाईनमा रहेको शिक्षण अस्पतालमा दुई महिला नर्स र एक पुरुष डाक्टरको पनि ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । आक्रमणपछि अस्पताल पूर्णरूपमा निष्क्रिय बनेको छ जसले घाइते र बिरामीहरूको उपचारमा गम्भीर सङ्कट सिर्जना गरेको छ । युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । सुडान सन् २०२३ अप्रिलदेखि गम्भीर द्वन्द्वमा फसेको छ ।

सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको शक्ति सङ्घर्ष व्यापक युद्धमा परिणत भएको छ । यही द्वन्द्वकै क्रममा नागरिक पूर्वाधार, विशेषगरी स्वास्थ्य संस्थाहरू बारम्बार निशानामा पर्दै आएका खबरमा उल्लेख छ । अस्पतालमा भएको यस पछिल्लो आक्रमणका विषयमा दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् । 

डब्ल्यूएचओको तथ्याङ्कअनुसार अहिलेसम्मको युद्धमा ४० हजार जनाभन्दा धेरैको ज्यान गइसकेको बताएको छ, तर विभिन्न सहायता संस्थाहरूले वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन् । डब्ल्यूएचओकाअनुसार युद्ध शुरू भएयता स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा मात्र दुई हजारभन्दा धेरै जनाको ज्यान गएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्