अमेरिका-इरान तनावः ट्रम्पले रोके चीन भ्रमण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको अन्त्यमा हुने भनिएको आफ्नो महत्त्वपूर्ण चीन भ्रमण रोकेका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले यो भ्रमण रोकेका हुन् ।
उनले यसलाई करिब एक महिना पछि सार्ने योजना बनाएको दाबी गरेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता आगामी मार्च ३१ देखि अप्रिल २ का लागि तय गरिएको थियो ।
सन् २०२६ को सुरुदेखि नै मध्यपूर्वमा युद्ध चलिरहेको छ । अमेरिकाले इरानविरुद्ध प्रत्यक्ष सैन्य भूमिका खेलिरहेको छ, जसका कारण राष्ट्रपति ट्रम्पले विदेश भ्रमणभन्दा ‘वार रुम’ लाई प्राथमिकता दिएका हुन् । इरानले विश्वको तेल ओसारपसार हुने प्रमुख मार्ग हर्मुज जलसन्धिमा अवरोध सिर्जना गरेपछि विश्वभर इन्धनको मूल्य आकासिएको छ ।
अमेरिकाले चीनलाई आफ्नो प्रभाव प्रयोग गरेर यो बाटो खुलाउन दबाब दिइरहेको छ । चीन इरानको प्रमुख आर्थिक साझेदार हो । उसले अमेरिकी आक्रमणको विरोध गरिरहेको छ, जबकि अमेरिका चीनले रुस र इरानलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ ।
