sevenstartv.com १ चैत २०८२, आइतवार

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

१ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ ।

अमेरिकी सेनाले खार्ग टापुमा रहेका ९० भन्दा बढी इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ । आक्रमणका क्रममा तेलसम्बन्धी संरचनालाई भने क्षति नपुर्याई सुरक्षित राखिएको बताइएको छ ।

उक्त आक्रमणबाट नौसैनिक बारुद भण्डारण स्थल, क्षेप्यास्त्र भण्डारण बंकर तथा अन्य धेरै सैन्य संरचनाहरू नष्ट भएको जनाइएको छ । खार्ग टापु फारसको खाडीमा इरानको तटबाट करिब २५ किलोमिटर टाढा अवस्थित छ र इरानको कच्चा तेल निर्यातको करिब ९० प्रतिशत यही टापुमार्फत हुने गर्दछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त आक्रमणले सैन्य लक्ष्यहरूलाई ‘पूर्ण रूपमा नष्ट गरेको’ बताएका छन् । उनले यदि हर्मुज जलडमरू हुँदै हुने जहाज आवागमन अवरुद्ध भए खार्ग टापुको तेल संरचनालाई पनि निशाना बनाइने चेतावनी दिएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्