sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

इरान युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासियो

२५ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै यसको प्रभाव विश्व बजारमा देखिन थालेको छ । सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको छ । तेलको मूल्यको प्रभाव तेलमा मात्रै नभएर यसले अन्य क्षेत्रलाई असर गर्नेछ । 

अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण र तेल डिपोहरूलाई निशाना बनाएपछि विश्वभर ऊर्जा सङ्कटको त्रास बढेको छ । ब्रेन्ट क्रुडको मूल्य १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ डलर पुगेको छ ।  त्यस्तै, नाइमेक्स लाइट स्वीट क्रुडको मूल्य पनि १७ प्रतिशतभन्दा बढीले वृद्धि भई १०६.७७ डलर पुगेको छ ।  विश्वको महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने तेल र ग्यास आपूर्तिमा अवरोध आउने डरले बजारलाई त्रसित बनाएको छ । 

इरान र वरपरका क्षेत्रमा ऊर्जा पूर्वाधारहरू ध्वस्त पारिएका दृश्य सार्वजनिक भएपछि लगानीकर्ताहरू झस्किएका हुन् । यदि यो मार्ग आगामी मार्च अन्त्यसम्म बन्द रहेमा तेलको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने विश्लेषण गरिएको छ । यसको प्रत्यक्ष असर उपभोक्ता र व्यवसायीमा पर्ने देखिएको छ । पेट्रोल, डिजेल मात्र नभई हवाई इन्धन र रासायनिक मलको कच्चा पदार्थको मूल्य समेत बढ्ने निश्चित छ ।  होर्मुज मार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति हुने गर्छ । 

जहाजको आवतजावत प्रभावित भएपछि तेल आपूर्ति अवरुद्ध हुन थालेको र त्यसैका कारण मूल्य लगातार बढिरहेको विश्लेषकहरू बताउछन् ।  गल्फ क्षेत्रबाट हुने आपूर्ति मुख्यतया एसियाली देशहरूमा खपत हुने भए पनि अहिले एसियाली उपभोक्ताहरूले अमेरिकी ग्यासका लागि उच्च मूल्यमा बोलकबोल गर्न थालेका छन् । यसको प्रभाव स्वरूप युरोपतर्फ जाँदै गरेका केही ग्यास ट्याङ्करहरू बिच बाटोबाटै मोडिएर एसियातर्फ लाग्न थालेका छन् । 

तेलको मूल्य वृद्धिको नकारात्मक असर सेयर बजारमा पनि देखिएको छ । विश्वव्यापी अर्थतन्त्रमा थप मुद्रास्फीति बढ्ने खतराले लगानीकर्ताहरू अन्यौलमा परेका छन् । यसैबिच, इरानमा सर्वोच्च नेता अली खामेनीको उत्तराधिकारीका रूपमा उनका छोरा मोज्तबा खामेनीलाई चयन गरिएको छ । यसले इरानमा कट्टरपन्थीहरूको पकड कायमै रहेको र युद्ध तत्काल साम्य हुने सम्भावना न्यून रहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्