इरानमा मृत्यु हुनेको संख्या १,००० नाघ्यो
काठमाडौं । अमेरिका र इजरायलको संयुक्त आक्रमणको पाँचौँ दिन इरानभरका सुरक्षा बलहरूलाई लक्षित गरी इजरायलले भीषण हवाई आक्रमण गरेको छ। यस आक्रमणमा परी मृत्यु हुनेको संख्या १,०४५ पुगेको छ । जवाफमा इरानले पनि प्रतिशोधात्मक आक्रमण सुरु गर्दै मध्यपूर्वका सैन्य र आर्थिक पूर्वाधारहरू ध्वस्त पारिदिने चेतावनी दिएको छ ।
बुधबार इजरायलले राजधानी तेहरान, पवित्र सहर कोम, पश्चिमी इरान र इसफाहान प्रान्तमा बमबारी गरेको छ। यी आक्रमणहरूमा आवासीय भवनहरूमा समेत क्षति पुगेको बताइएको छ। इजरायलले विशेष गरी इरानको रिभोलुसनरी गार्ड्सअन्तर्गतको स्वयंसेवक बल बसिज र आन्तरिक सुरक्षा कमाण्डसँग सम्बन्धित भवनहरूलाई निशाना बनाएको दाबी गरेको छ।
इरानी नागरिकहरू यो युद्धको सबैभन्दा ठूलो मारमा परेका छन्। हालसम्म ६,००० भन्दा बढी मानिस घाइते भएका छन् भने ३०० भन्दा बढी बालबालिका र किशोरकिशोरीहरू अस्पताल भर्ना भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार युद्धका कारण फेब्रुअरी २८ देखि मार्च १ को बिचमा मात्रै करिब १ लाख मानिसले तेहरान छोडेका छन्।
