नयाँ बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु
काठमाडौं । काठमाडौंका नयाँ बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ ।
मंगलबार बिहान बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको बा २ क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । भक्तपुरका लोकन्थली बस्दै आएका ४८ वर्षीय कोइराला सुनसरीको इनरुवा नगरपालिका–५ का स्थानीय हुन् ।
उनी भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु हुन् । टिपरले कोइरालाले चलाएको प्रदेश-३-००१ ब।९४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । टिपर फोहोर संकलनमा प्रयोग हुने गरेको एसपी भट्टराईले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
