तेहरान र बेरुतमा भीषण बमबारी
काठमाडौं । इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा भएका शृंखलाबद्ध हवाई हमलामा परी इरान र लेबनानमा गरी ज्यान गुमाउनेको संख्या ६०० नाघेको छ । इजरायली वायुसेनाले तेहरानस्थित इरानी सरकारी रेडियो तथा टेलिभिजनको मुख्यालयलाई निशाना बनाई ध्वस्त पारेको छ ।
सञ्चार केन्द्रबाट इरानी रिभोलुसनरी गार्ड्सले प्रोपोगान्डा फैलाउने गरेको इजरायलको दाबी छ। यता लेबनानको बेरुतमा पनि आवासीय क्षेत्र र सैन्य ठेगानामा बमबारी जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको यो सैन्य अभियान झण्डै चार हप्तासम्म चल्न सक्ने बताएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले तेहरानको क्षेप्यास्त्र क्षमता र आणविक पूर्वाधार पूर्ण रूपमा नष्ट नगरेसम्म अमेरिका पछि नहट्ने प्रतिबद्धता जनाएका हुन्। उनले भनेका छन् ।
इरानी सैन्य कमान्डरले हर्मुज मार्ग भएर जाने कुनै पनि जहाजमाथि आक्रमण गर्ने धम्की दिएका छन् । विश्वको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने यो मार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० देखि १३ प्रतिशतसम्म बढिसकेको छ । बमबारीका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने अस्पताल घाइतेले भरिएका छन् । संयुक्त राष्ट्रसंघले यस द्वन्द्वले ठूलो मानवीय संकट निम्त्याउन सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेको छ। दुवै पक्ष पछि हट्ने संकेत नदेखिएकाले मध्यपूर्वमा पूर्णकालीन युद्धको खतरा बढेको छ ।
