अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला लिने घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले आफ्ना सैनिकको मृत्युको बदला लिने र इरानी शासनमाथि ‘सबैभन्दा कठोर प्रहार’ गर्ने बताए । स्वतन्त्र नागरिकका लागि यो एक कर्तव्य र जिम्मेवारी भएको उनको भनाइ छ । इरानविरुद्ध जारी सैन्य कारबाहीका क्रममा तीन अमेरिकी सैनिकको मृत्यु भएको खुलेको छ। यो हमलामा पाँच जना गम्भीर घाइते भएको सार्वजनिक गरिएको छ ।
अमेरिकी सेनाले इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका दौरान उक्त क्षति भएको जनाएको छ। संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वमा पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको बताइएको छ ।
