हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा भएको २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्यामा संलग्न मुख्य आरोपित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाका समीर खान रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए । उनका अनुसार, खानलाई भाग्न सहयोग गरेको आरोपमा यसअघि नै उनकी आमा ५५ वर्षकी सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुनलाई र ससुरा पर्सा वीरगञ्जका ५६ वर्षीया लालबाबु खाँ पठानसहित उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ परिसकेका छन् ।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ । हेटौंडा–११ थानाभर्याङकी न्यौपानेको शव भदौ १० गते होटलको कोठा नम्बर २०५ मा फेला परेको थियो । डीएसपी भण्डारीका अनुसार, होटलभित्रै उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको थियो । जसमा समीरले आफूले अञ्जानमै हत्या हुन पुगेको स्वीकारेको एलिसाको परिवारले जनाएको छ ।
