sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

१४ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुष्टि भएको हो ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमुना सङ्कलन गरेको थियो । सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमुनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएकामा पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको जनाइएको छ । 

पशु अधिकृत रामप्रसाद भट्टका अनुसार सङ्क्रमित बङ्गुरहरूमा सुरुमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने गर्दछ । बङ्गुरहरू दानापानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने र छट्पटाउने जस्ता लक्षण देखिन्छन् । विशेष गरी कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागको छालामा रगत जमेका रातो वा नीलो रङ्गका धब्बाहरू देखिनु यस रोगको प्रमुख पहिचानका रूपमा रहेको छ । 

वरिष्ठ पशु चिकित्सक जोशीले कुनै पनि स्थानमा बङ्गुरमा अस्वाभाविक लक्षण देखापरेमा वा धमाधम मर्न थालेमा लुकाएर नराखी तुरुन्त नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्