निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न आग्रह गरेको छ । निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो ।
चुनावी आमसभा, भेला, घरदैलो कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ताबीच झडप हुनसक्ने र निर्वाचन विथोल्न लागेको केही समूहबाट सडक अवरुद्ध गर्नसक्ने आकलन गरिएको बताइएको छ निर्वाचन बिथोल्ने नाममा रुख ढालेर सडक बन्द गर्ने वा अन्य अवरोध सिर्जना गर्ने गतिविधि हुनसक्ने भएकाले स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर तयारी गरिएको जनाइएको छ ।
स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन, लामो बिदा स्थगित गर्न र सेवामा खटिरहन आग्रह गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए। झडपका कारण घाइते अस्पताल पुग्दा स्वास्थ्यकर्मी उपलब्ध नभए गम्भीर समस्या पर्नसक्ने छ । सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण, भर्चुअल तालिम तथा आवश्यक औषधि र उपकरणको मौज्दात व्यवस्थापन गरिसकेको छ ।
