पछिल्लो तीन महिनामा ६१४ जना नेपालीले त्यागे नागरिकता
काठमाडौं । गृहमन्त्रालयको तथ्याङअनुसार पछिल्लो तीन महिनामा ६१४ जना नेपालीले नागरिकता त्यागेका छन् । यहि अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन् ।
गृह मन्त्रालयका अनुसार विदेशमा स्थायी रुपमा नै बसोबास गर्नेगरी विदेश गएका र विदेशको नागरिकता लिन नेपालको नागरिकता त्याग गर्नेहरू छन् । वैदेशिक रोजगारी, उच्च शिक्षा र विकसित मुलुकमा स्थायी बसोबास गर्ने उद्देश्यले नेपाली नागरिकता त्याग्नेहरू छन् । अमेरिका, क्यानडा, युरोप जस्ता देशहरूमा बस्न र त्यहाँको नागरिकता र सुविधा लिनका लागि आफ्नो देशको नागरिकता त्याग्नुपर्ने हुन्छ ।
विदेशी नागरिकसँग विवाह गरी विदेशमा बस्नेहरूले पनि आफ्नो देशको नागरिकता त्याग्ने गर्छन् । तथ्यांकअनुसार तीन महिनाको अवधिमा कूल दुई लाख दुई हजार ९५६ वटा नागरिकता जारी भएको छ । वंशजको नागरिकता प्राप्त गर्नेको संख्या एक लाख १९ हजार १२ छ । २६ जनाले अंगीकृत नागरिकता लिएका छन् भने वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० रहेको छ ।
