रौतहटमा दुई समुदायबीच तनाव
काठमाडौं । रौतहटको गौर नगरपालिका-६ सबगढवामा दुई समुदायबीच हिंसात्मक तनाव भएको छ ।
स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित भएका छन् । गतराति एक हिन्दु समुदायको घरमा वैवाहिक कार्यक्रम भइरहेका बेला बाजा बजाउने विषयमा केही व्यक्तिबीच विवाद भएसँगै अवस्था तनावपूर्ण बनेको हो ।
त्यही घटनालाई लिएर शुक्रबार दुई समुदायबीच झडप भएको हो । सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती पुगेको थियो । सबगढा गाउँस्थित मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषमा भनाभन भएको थियो ।
भनाभनपछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका सदस्यहरूलाई कुटपिट गरेका थिए । त्यही विषयलाई लिएर बिहीबार बिहानदेखि दुई समुदायबीच झडप र ढुंगामुढा हानाहान भएको हो । झडप नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। झडपका क्रममा केही सर्वसाधारण र प्रहरी घाइते भएका छन् ।
अहिले अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पाँचसय भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।
