sevenstartv.com २१ वैशाख २०८३, सोमवार

भारतको कोइलाखानीमा विष्फोट: खोटाङका तीन युवकको मृत्यु

२६ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । भारतको मेघालयस्थित एक अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ । मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको उक्त दुर्घटनामा एक जना अझै बेपत्ता छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बरापोखरी गाउँपालिका–१ का २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर रहेका छन् । पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ हुन् । विष्फोटमा परेर हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राई बेपत्ता भएका छन् ।

खानीभित्रै विष्फोट भएकाले बेपत्ता राईको जलेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। उनको नागरिकता र मोबाइल भने कोठामै भेटिएको छ।
विष्फोटमा बरापोखरीकै कर्णबहादुर खपाङ्गी मगर, बमबहादुर खपाङ्गी मगर र उदयपुरका ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

रोजगारीका लागि भारत पुगेका युवाहरूको अकालमा ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । मृतकका आफन्तहरू शव लिन मेघालय पुगे पनि कानुनी प्रक्रिया र खर्चको अभावमा शव नेपाल ल्याउन कठिनाइ भएको छ । घाइतेको उपचार र शव स्वदेश ल्याउनका लागि स्थानीय स्तरमा सहयोग सङ्कलन अभियान समेत सुरु गरिएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्