दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते
काठमाडौं । धादिङमा दुई बस ठोकिदा पाँच जना घाइते भएका छन् । धादिङको थाक्रे–६ को दशकिलोमा आज बिहान दुई बस ठोक्किँएका हुन् । दाङबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट धादिङ जाँदै गरेका दुई बस ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिससमेत घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
दुई बस ठोक्किएपछि एउटा बस अनियन्त्रित भएर चिया पसलमा पुग्दा त्यहाँ बसेका अन्य सर्वसाधारणसमेत घाइते भएका हुन् । घटनाको थप विवरण आउन बाँकी छ ।
