स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते
काठमाडौं । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।
नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको बस र लु३त ३५३० नं को ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा एकआपसमा ठोक्किँदा दुर्घटना हुँदा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् ।
मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा यपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केका छन् ।
बिहानपख बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
