तामाङ समुदायले आज २८६२ औँ सोनाम ल्होसार पर्व मनाउँदै
काठमाडौं । आज २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ ।
यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । विगतमा सोनाम ल्होसारको बिदा कटौती गरेको सरकारले पछि देशैभर बिदा दिन थालेको छ । विभिन्न प्रदेश र स्थानीय सरकारले पनि सार्वजनिक बिदा दिएका छन् ।
