कुश्मा, पर्वतमा मानसिक तथा नशा रोगसम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न
काठमाडौं । प्रदेश अस्पताल, कुश्मा, पर्वतमा मिति २०८२/९/२६ गते शनिबार गण्डकी मेडिकल कलेज, पोखराका वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ सह-प्राध्यापक डा. अच्युत शर्माको उपस्थितिमा मानसिक तथा नशा रोगसम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
शिविर पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो। उद्घाटन समारोहमा प्रदेश अस्पताल, कुश्मा, पर्वत व्यवस्थापन समितिका अध्यक्ष याम परियार ‘शिव’को अध्यक्षता रहेको थियो । कार्यक्रममा शसस्त्र प्रहरी बल, चण्डिका गण पर्वतका प्रमुख करण सिंह धामी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विजय यादव लगायत विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा प्रदेश अस्पताल, कुश्मा, पर्वतका मेडिकल सुपरिटेण्डेन्ट डा.ढुण्डिराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्यका क्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले मानिस शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत स्वस्थ रहनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्य सुदृढ भएमा घर, टोल, समाज र समग्र जिल्लाको शान्ति सुरक्षा तथा सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
उक्त निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविरबाट करिब ५० जनाले प्रत्यक्ष सेवा लिएका थिए । स्थानीय नागरिकहरूले यस्तो उपयोगी स्वास्थ्य शिविर आयोजना गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरेका छन् । उक्त कार्यक्रमको संचालक मेडिकल रेकर्ड निरिक्षक प्रकाश शर्माले गरेका थिए ।
