निर्वाचन आयोगद्वारा संवैधानिक आयोगहरूसँग छलफल, चुनाव स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन आयोगलाई सक्रिय सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं । निर्वाचन आयोगले संवैधानिक आयोगका प्रमुखहरूसँग छलफल गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन आयोगले आइतबार संवैधानिक आयोगहरूसँग छलफल गरेको हो ।
निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन संवैधानिक आयोगहरूको सक्रिय सहयोगको आवश्यकता महसुस गरेर छलफलमा बोलाएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जानकारी दिए ।
समानुपातिक समावेशिताको सन्दर्भमा आदिवासी जनजाति, दलितलगायतका समुदाय पहिचान गर्न आयोगलाई अन्योल हुने गरेकोले त्यसमा सहयोग गर्न आयोगले आग्रह गरेको थियो । उनले आदिवासी जनजाति समुदायका धेरै नागरिकले खस नेपाली भाषा नबुझ्ने भएकाले निर्वाचन प्रचारप्रसार मातृभाषामै गर्नुपर्ने सुझाव पनि दिएको बताएबा छन् । आयोगले सबै राजनितिक दलका उम्मेदवारहरूलाई बोलाएर उनीहरूको घोषणापत्रको बारेमा बहस गराइ जनतामाझ लैजाने व्यवस्था गर्न सुझाव दिएको जनाइएको छ ।
यस्तै, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायलाई निर्वाचनमा सक्रिय सहभागिता गराउन मुस्लिम आयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए । आयोगसँगको छलफलका क्रममा संवैधानिक आयोगहरूले आ–आफ्नो क्षेत्रबाट निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
