sevenstartv.com १० माघ २०८२, शनिवार

भदौ २४ मा आगजनी भएका सवारीको व्यवस्थापन भएन अझै

आगजनीबाट दुईपांग्रे ४ सय ४२, चारपांग्रे ३ सय ५, बस २ र ७ वटा हेभी इक्विपमेन्टमा क्षति

२० पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं । गएको भदौ २४ मा भएको जेनजी आन्दोलनमा जलेका ७ सय ५६ सवारीसाधनसंसद् भवनमा अझै अलपत्र छन् । सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा विभिन्न सरकारी निकायमा आगजनीपछि क्षति भएका सवारीसाधन संसद् भवनमा लगेर थुपारिएको थियो ।

तर यी सवारीको व्यवस्थापन प्रक्रिया अझै अघि बढेको छैन । जलेका सवारीसाधन संसद् भवन परिसरमा यत्रतत्र छन् । नयाँबानेश्वर भएर ओहोरदोहर गर्ने पैदलयात्रुको नजर आगो लगाइएको संसद् भवन र त्यहाँभित्र राखिएका आगजनीबाट क्षति भएका सवारीसाधनमा पर्ने गरेको छ । सुरुमा सवारीसाधन राख्न समन्वय गरेका मन्त्रालयसमेत व्यवस्थापनकै विषयमा प्रस्ट छैनन् ।

आगजनीबाट क्षति भएका सवारीलाई संसद् भवनमा लगेर राख्नेबाहेक थप प्रक्रिया अघि बढेको छैन् ।  सम्बन्धित मन्त्रालयले सवारीसाधनको मुचुल्का उठाएर संसद् भवनमा लगेर राखेका थिए । सहरी विकास र भौतिक मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार आगजनीबाट ४ सय ४२ दुईपांग्रे, ३ सय ५ चारपांग्रे, २ बस र ७ वटा हेभी इक्विपमेन्टमा क्षति पुगेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत मात्र क्षति पुगेका चारपांग्रे ६१ र दुईपांग्रे ६२ वटा छन् ।

आगजनीबाट क्षति भएका विभिन्न मन्त्रालय तथा निकायबाट चारपांग्रे १ सय ४५, दुईपांग्रे २ सय ५६ र बस २ वटा सवारी संसद् भवनमा राखिएको सहरी विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत दुईपांग्रे सवारी २४ र चारपांग्रे ११ वटा आगजनीबाट क्षति भएको बताइएको छ । आगजनीबाट सबभन्दा धेरै सवारी सडक विभागमा पार्किङ गरेर राखिएका परेका हुन् । सडक विभागका अनुसार ८८ चारपांग्रे, एक सय वटा दुईपांग्रे र ७ वटा हेभी इक्विपमेन्ट जलेर नष्ट भएका छन् ।

जेन–जी आन्दोलनले गर्दा प्रायः कर्मचारीले सवारीसाधन सडक विभाग परिसरमा पार्किङ गरेर राख्दा ठूलो क्षति भएको हो । आगजनीपछि अहिले कतिपय आयोजनाका आफ्ना छुट्टै सवारी छैनन् ।अहिले सबैलाई एकै ठाउँमा राखिएकाले सम्बन्धित मन्त्रालयले सवारीसाधनको मिनाहा गरेर एउटै मन्त्रालयले त्यसको लिलाम गर्ने निर्णय भएको जनाइएको छ । प्रर्दशनको बेला जलेका सवारी तथा अन्य भौतिक सम्पत्तिको मिनाहा तथा लिलाम बिक्रीका सम्बन्धमा मन्त्रिपरिषद्को ५ असोजको निर्णयबमोजिम गर्नुपर्नेछ ।

यसअनुसार मन्त्रालय÷निकायले प्रचलित कानुनबमोजिम मिनाहा प्रक्रिया सम्पन्न गरी पत्रुमा लिलाम गर्नुपर्ने सामानको एकमुष्ट सूची हस्तान्तरण गरेको पत्र सहरी विकासलाई पठाउने र सहरीले लिलामको प्रक्रिया अघि बढाउनेछ । हाल सञ्चालनमा रहेका र नयाँ सवारीसाधन एवं भवनको अनिवार्य बिमा गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय पनि गरेको छ । मर्मत गर्न मिल्ने सवारी तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने छ ।

सबैले आगलागीबाट क्षति भएका सवारीको मुचुल्का उठाएर संसद् भवन लगरे सवारीसाधन राखिसकेका छन् । के–कति सवारीमा क्षति भएको थियो भन्नेबारे भने अझै पनि एकमुष्ट तथ्यांक प्राप्त भइसकेको छैन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्