सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय युवकको मृत्युको घटनाबारे पीडित परिवार र प्रशासनबीच ५ बुँदे सहमति
काठमाडौं । सुनसरीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय युवक विजय साहको मृत्युको घटनाबारे पीडित परिवार र प्रशासनबीच ५ बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले घटनाबारे सत्यतथ्य छानबिन गर्ने र पीडित परिवारलाई न्याय दिलाउने विषयमा पाँच बुँदे सहमति गरेको हो । सहमतिअनुसार सशस्त्र प्रहरीको गोली प्रहारबाट विजय साहको मृत्यु भएको घटनाको कारण र परिणामबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिने भएको छ ।
समितिमा नेपाल प्रहरीको प्रदेश कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत सदस्य रहनेछन्। समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ । छानबिन प्रतिवेदन प्राप्त भएपछि सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको ठहर भएमा प्रचलित नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि नेपाल सरकारसमक्ष सिफारिस गरिने सहमति भएको छ ।
त्यसैगरी मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहल र सहजीकरण गर्ने निर्णय गरिएको छ । मृतकका छोरा सशस्त्र प्रहरी बलमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमअनुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति पनि भएको छ ।
साथै मृतक विजय साहको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सोपश्चात मृतक परिवारले दाहसंस्कार गर्ने सहमति भएको प्रशासनले जनाएको छ। बैठकमा प्रशासन, सुरक्षा निकाय तथा पीडित पक्षका प्रतिनिधिहरूको सहभागी थिए । सहमतिपछि त्यस क्षेत्रको अवस्था सामान्य बन्ने अपेक्षा गरिएको छ ।
